बेपत्ता परिएकाहरुको सवालमा सबै पक्षले समान कष्ट बेहोर्नुपर्छ; पक्राउ पर्ने र साथै परिवारले पनि।
राममाया नकर्मी, ४४, आफ्ना सबै सामानहरु समेटेर फेरी नयाँ ठाउँमा डेरा सर्दैछिन्। उनी आफ्नी छोरी लुमना नकर्मीसंग भाडामा कोठा लिएर बस्छिन्। पछिल्लो पाँच वर्षमा उनले डेरा सर्नुपरेको यो चौथो पटक हो। २०७२ सालको भुकम्पले उनको पुरानो धर भत्कायो, जहाँबाट उनका श्रीमान पदम नारायण नकर्मी लाई २०६० सालमा जबर्जस्ती लागिएको थियो।
पदम नारायण बुगंमतीमा आफ्नो घर नजिकैको सानो फलामे ग्रिल कारखानामा काम गर्थे। राममायाका अनुसार उनको माओवादी विद्रोहीहरुसंग केहि उठबस भने थियो। उनीहरुको पाँच वर्षको छोटो दाम्पत्य जीवनमा यस घटनाले सब उथलपुथल गराइदियो ।
राममायाको बुगंमतीस्थित भाडाको कोठा बहिरको ढोका। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
“किन किन मलाई यस्तै हुन्छ जस्तो चाहिँ लागिरहेको थियो।”, उनी भन्छिन्। केहि दिन पहिले मात्रै श्रीमानका आठ साथीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई लिन आउँदा भने सबै यति छिटो भयो कि, राममायालाई आफुलाई पनि श्रीमानसंगै लैजान सुरक्षाकर्मीलाई अनुरोध गरेको सम्झना मात्रै छ। उनीहरुले त्यसो गर्न मानेनन्, तर भोलिपल्टै फर्काइदिने आश्वासन दिएर गएका थिए।
यो घटना भएको आज १७ वर्ष पुरा भयो।
भाडामा लिएको कोठाको भित्तामा राममायाका श्रीमान र आफन्तहरूको पुराना तस्वीरहरूको संग्रह। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
पदमको गिरफ्तारी पछि महिनौँसम्म राममाया दैनिक जसो प्रहरी चौकी धाउँथिइन्, तर केहि उपलब्धि भएन। केहि सहयोग हुन्छ कि भनेर धेरै ठाउँमा ढोका ढकढक्याइन्, दिनहुँ ८ देखि १० किलोमिटर पैदल हिडेर सहर पुग्थिन्। त्यतिखेर अहिलेजस्तो बसहरु धेरै चल्दैनथे र बस भाडाको लागि उनीसित पैसा पनि हुँदैन्थ्यो ।
पदमका पक्राउ परेका केही साथीहरु पछी छुटे र उनीहरुलाई महाराजगंज ब्यारेकमा महिनौंसम्म पदमसँगै राखिएको कुरा राममायालाई भने। पछी उनीहरुलाई पदमबाट अलग्गाइएर छुट्टाछुट्टै स्थानमा लगिएको रहेछ।
भाडामा लिएको कोठाको भित्तामा राममायाका श्रीमान र आफन्तहरूको पुराना तस्वीरहरूको संग्रह। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
त्यसैले राममायाले दुई वर्षसम्म महाराजगन्जको भैरवनाथ ब्यारेक र ललितपुरको लगनखेल ब्यारेकको नियमित चक्कर लगाइन्। चार वर्षकी छोरीले आफ्नो बुवा खोज्थी। सानी छोरीलाई महाराजगंन्ज लगेर अधिकारीहरुसमक्ष बाबुसित भेट मात्र भएपनि गराईदिन हारगुहार गरिन्। तर उनको अनुनयको कतै सुनुवाइ भएन। कहिले उनलाई शाही नेपाली सेनामा जानु भनियो, त कहिले नक्साल, कहिले हनुमान ढोका। काठमाडौंमा ठाँउठाँउ चहार्दा चहार्दै उनको दिन बिथ्यो।
उनी भन्छिन् ,” मैले पढे लेखेको छैन।कोसंग कसरी कुरा गर्ने पनि आउदैँन, न त मलाई कसैसामु आफ्नो तर्कनै प्रस्तुत गर्न आउँदछ। जेठान दाईले मलाई सहयोग गरेर मसंग जानुपर्ने ठाँउमा साथी आइदिन्थे । सब व्यर्थ भयो , हामीले कहिँकतै जवाब पाएनौँ।”
ऐनामा राममायाको प्रतिबिम्ब। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
पदम नारायण नकर्मीको फोटो । ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
राममायाका सासु-ससुराले पहिलो दुई वर्ष त उनको खोजीमा सहयोग गरे तर पछि उनीहरुले पनि हार माने। छोरीले पनि बाबुको बारेमा सोध्न छाडी र घरमा उनको कुरै निस्कन छोड्यो। बुगंमतीकै एउटा कारखानामा राममायाले जागिर पाइन् र छोरीको हेरचाहतिर ध्यान दिन थालिन् । छोरी अहिले बीस वर्षकी भैसकिन् र पढाई र कामलाई सँगसँगै अगाडी बढाउदैँछिन्। आमाछोरी दुवैलाई अहिले ती दिनहरु सम्झनै मन छैन।
“हामीले जेनतेन गरि ती दिनहरु पार त गर्यौँ तर लाग्छ कि हामीले जीवनको एउटा महत्त्वपूर्ण कालखण्ड गुमायौँ, कहिलेकाहिँ त अब फर्कनुहुन्न जस्तो लाग्छ, तर भन्छन् नि सास रहेसम्म आश बाँकी रहन्छ!” राममायाले टुङ्गाइन् ।
पदम नारायण नकर्मीको फोटो । ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
आफ्नो कोठाको झ्यालबाट बाहिर हेरिरहेकी राममाया । ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
“पदमलाई लिन आउदा आर्मीले भर्याङ लगाएर घरमा छिरे । उनीहरुले न ढोका ढक्ढकाए न केहि सोच्ने मौका नै दिए। त्यतिबेलै थाहा भएको भए सबै झयाल ढोका बन्द गरिराख्थेँ होला।”
काठमाडौंकै अर्को कुनामा बिमला ढकाल पनि अगाडी बढ्न प्रयास गर्दैछिन्। उनी भन्छिन्,” बिगतका भोगाइहरु एकदमै पिडादायी छन्।”
बिमलाको घर काठमाडौंबाट ७६ किलोमिटर टाढा गोरखाको गाउँमा पर्छ। त्यहाँ उनी आफ्नो श्रीमान, सासुससुरा र तीन छोराछोरीसंग बस्थिन् र नजिकैको प्राथमिक विधालयमा पढाउँथिन्। उनको श्रीमान राजेन्द्र ढकाल, अधिवक्ता तथा मानव अधिकार संरक्षण संघ, गोरखाका अध्यक्ष थिए। शिक्षित र कुशल वक्ता भएका कारण उनले अधिकारीहरुबाट समय समयमा धम्की र उत्पीडनको सामना गर्नुपर्थ्यो । पटक-पटक पक्राउ परेर रिहा भएपछि राजेन्द्र आफ्नो पेशा छाडेर केही वर्षको लागि भूमिगत भए।
वि.सं. २०५६ मा राजेन्द्र एउटा जनचेतनामुलक कार्यक्रममा सहभागि हुन तनहुँ पुगेका थिए। त्यहाँ दुई साथीसहित उनी समातिए। बिमलासम्म यो खबर पुग्दा पहिले जस्तै छुटिहाल्छन् भन्ने लागेको थियो । तर उनी गलत सावित भइन्, त्यो दिनबाट आज २१ वर्ष बितिसक्यो।
बिमला ढकालको तीन बर्ष अगाडी स्टुडियोमा खिचिएको चित्र। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
राजेन्द्रको गिरफ्तारीपछि बिमलालाई पनि थुनामा लगेर सोधपुछ गरियो। यो क्रम बारम्बार दोहोरिरह्यो र उनलाई पनि धम्कीहरु आउन थाले। त्रासले गोरखासँगै घर र जागिर छोडेर तीन बालबच्चा लिएर उनी काठमाडौं आईपुगिन् ।
“मलाई थाहा छ मैले भोग्नु परेको पिडा। अरुलाई जती बुझाउन प्रयास गरे पनि बुझ्नसक्दैनन।” बिमला भन्छिन् ।
धेरै बर्ष बित्यो, हरेक दिन आफ्नो बालबच्चाको स्याहार गर्दै प्रहरी कार्यलय धाउनुपर्ने पनि एउटा संघर्ष थियो। छोराछोरी अहिले कमाउने भइसके र उनीहरुको परिवार आज काठमाडौंमा एउटा सधारण जीवनयापन गर्दैछ।
उनी भन्छिन्, ”एकल महिला भएर छोराछोरी हुर्काउन मैले दोब्बर मिहिनेत गर्नुपर्यो। त्यसैगरी मेरा नानीहरुले पनि पढाईमा परिश्रम गरेर सक्षम हुन र विगतले आफुलाई परिभाषित नगरोस् भनेर दोब्बर मिहिनेत गर्नुपर्यो। यहि मिहिनेत र अथक प्रयासका कारण हामी आज खुसी नै छौँ।”
बिमला ढकालको तीन बर्ष अगाडी स्टुडियोमा खिचिएको चित्र। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
बिमलालाई आफनो श्रीमान फर्केर आउने कुनै आशा छैन तर चमत्कारको झिनो आशा भने कताकता बाकिँ नै छ ।
केहि हप्ताअघि समाचार हेर्दा कोरोना भाइरसको कारण धेरै मान्छेहरु देशविदेशबाट आफनो घर फर्केको देखेकी थिइन्। “समाचार हेरेपछि भित्री हृदयमा राजेन्द्र पनि फर्किहाल्लान् कि भनेर आश पलायो,” तर अन्तिममा त्यो दिवास्वप्न मात्र साबित भयो ।
सबिता बस्नेतले पनि आफनो श्रीमान मिलन नेपालीलाई, २०५६ सालबाट देखेकी छैनन्। मिलन तत्कालिन माओवादीसंग आबद्द एक अखबारमा पत्रकारका रुपमा कार्यरत थिए , उनी काठमाडौंको टेबाहालस्थित आफ्नो घरबाट पक्राउ परेका थिए। उनलाई सोधपुछका लागि भनेर हातहतियार बिना आएका प्रहरीले भ्यानमा राखि लगेका थिए।
तीन वर्ष अगाडी खिचिएको सबिता बस्नेतको तस्बिर। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
केहि महिनासम्म सबितालाई आफ्नो श्रीमानको लागि सफा कपडा पुर्याउनमात्रै प्रहरी कार्यलयमा बोलाईन्थ्यो। न त श्रीमानसंग भेट्न दिईन्थियो, न त बोल्न नै। कपडाहरु पुर्याउन जाँदा एक दिन श्रीमान हिरासतमा भएको थाना नजिकैको एउटा ढिस्कोमा चढेर टाढैबाट उनलाई एक झल्को देख्न पाएकी थिइन्।
“मैले ठूलो स्वरमा चिच्याएर उहाँलाई बोलाए, तर म धेरै टाढा भएकोले मलाई सुन्नुभएन। त्यो नै मैले उहाँलाई देखेको अन्तिम पटक थियो। यो घटनाको पनि २१ वर्ष भइसक्यो ”, उनी सम्झिन्छिन् ।
त्यस दिनपछि उनले आफ्नो श्रीमानको रिहाईको लागि कानुनी लडाईँ थालेकी थिइन् ।यसैक्रममा काठमाडौँमा बिमला ढकालसंग भेट भयो। अभाव र चोटका उस्ताउस्तै कथाहरु साट्दै उनीहरु एकअर्काको सहारा बने। अनि सबिताले बिमलालाई आफ्नो कार्यालयमा जागिर पनि मिलाईदिइन्, उनीहरु संगै काम गरेको पनि आज १३ बर्ष भइसकयो।
सबिता बस्नेत र बिमला ढकाल उनीहरुको काठमाडौंस्थित कार्यालयमा एकअर्कासँग गफ गर्दै। ©२०२० – सब्रिना डंगोल/ एच्.आर्.जे.सी.
दुवैको बेदनाबाट एकआपसमा गहिरो मित्रता फक्रियो। अहिले सबितालाई बिमलापनि आफ्नो परिवारको सदस्यझैँ लाग्दछ । छोराछोरीहरु पनि एकआपसमा मिल्छन्, एउटै उमेरका र आफ्ना बाबुसंगको बिछोडले बालापन गुमाएको साझा अनुभवले पनि होला। “नानीहरु शनिबारको बिदामा पनि सबिता आन्टीकोमा जाउँ न भन्दै ढिपी गर्थे ,” बिमला भन्छिन्।
“यत्रो बर्षसम्म हामी एकअर्काको लागि सहरास्वरुप भयौँ । दु:खका दिनहरुमा कुरा बुझ्ने एक जना मात्र साथी पाउँदा पनि दुबैलाई सजिलो भयो र समान्यरुपमा जीवन अगाडी बढाउन सहयोग पुग्यो ।”
युरोपेली संघबाट सहयोग प्राप्त
यो प्रकाशन युरोपेली संघको आर्थिक सहयोगमा भएको हो। यसका विषयवस्तुहरू ‘ह्युमन राइट्स एन्ड जस्टिस् सेन्टर’ र ‘ट्रायल इन्टर्नेशनल’ का उत्तरदायित्त्वमा निहित छन् भने यसले युरोपेली संघको दृष्टिकोण प्रतिबिम्बित गर्दैन।
@२०२० – सब्रिना डंगोल
नेपाली अनुवाद- रबिक उपाध्याय
सर्वाधिकर निहित, ट्रायल इन्टर्नेशनल र ह्युमन राइट्स एण्ड जस्टिस सेन्टर
यो सामग्री ट्रायल इन्टर्नेशनल र ह्युमन राइट्स एण्ड जस्टिस सेन्टर को सम्पत्ति हो। प्रतिलिपि अधिकार लागू हुनेछ । शर्तहरु लागु हुनेगरी यूरोपियन युनियनलाई लाईसेन्स प्रदान गरिएको ।